Monday, October 18, 2010
साउदी अरेवियामा पनि दशैंको टिका लगाए नेपालीहरुले
जहाँ पुग्दैन रवि, त्यहाँ पुगेको हुन्छ कवि ।
जहाँ पुग्छ नेपाली त्यहाँ पुर्याइन्छ नेपाली संस्कृति ।
साउदी अरेवियामा पनि दशैंको टिका लगाए भन्दा कसैले नपत्याउन सक्छ । किनकी यो कट्टर मुस्लीम देश हो । यहाँ यस्ता चाडपर्व मनाउन छुट छैन ।
तर यो वर्ष प्रायः कम्पनीहरुमा हिन्दुहरुको लागि आधादिन छुट्टी दिएको पनि पाईयो । प्रवासी नेपालीहरुले घरमा आफन्त तथा साथीभाईहरुलाई फोन मार्फत शुभकामना दिएर अनि मिठो मसिनो खाएर दशैं मनाए ।
यसै अवसरमा “विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेबिया”को आयोजनामा २०६७ सालको विजया दशमीलाई हर्षोल्लासका साथ मनाएको छ । रोजगारीको सिलसिलामा प्रवासमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाईहरु मिलेर शदियौं देखि मनाउँदै आएको आफ्नो संस्कृति तथा परम्परालाई जोगाउन विदेशमै बसेर भएपनि उहाँहरु सफल हुनुभएको छ । यस साहित्य महासंघका अध्यक्ष श्री खगेन्द्र अधिकारी ज्यूको कोठामा दर्जनौ नेपालीहरुले उपस्थित हुँदा यहाँको वातावरण नै उल्लासमय देखिन्थ्यो । साउदी अरबमा रातो टीका लगाएर कुनै पनि उत्सव मनाउन प्रतिवन्ध भए तापनि आयोजक बनेको विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेबियाको यस कार्यक्रमलाई उक्त प्रतिवन्धले छेकेन ।
कार्यक्रममा उपस्थित सम्पूर्ण सदस्यहरु दिनभरी आ-आफ्नो काममा व्यस्त हुने भएकोले यस कार्यक्रमलाई रातीको नौ बजेबाट शुरु गरिएको थियो । उक्त समयमा साउदीको दमाममा पर्ने रहीमा सिटीभित्र कार्यरत नेपाली दाजुभाईहरु सजिलै उपस्थित हुन सक्नुभएको थियो । नेपाली झण्डा दुर्गामाताको तस्वीर फलफुल आदिले सजिएको साथमा रातो टिकाको थाली अगाडी राखिएको थियो । लाग्थ्यो त्यतिखेर प्रवासी नेपालीहरु नेपालमै थिए । दर्जनको संख्यामा उपस्थित सदस्यहरु सबैले यो समयमा परदेशमा भएको आ-आफ्नो दुःख तथा पीडालाई भुल्नुभएको थियो । यस कार्यक्रममा उपस्थित हुनुभएकामध्ये सबैभन्दा ज्येष्ठ नागरिक लाल बहादुर थापामगर ज्यू को हातबाट टीका तथा प्रसाद ग्रहण गर्दै आशिर्वाद लिएको दृश्य कम रोचक थिएन ।
कार्यक्रमको दोस्रो चरणमा गजल वाचन कार्यक्रम रहेको थियो । त्यसपछि दशैं गीतमा सामुहिक नृत्य र अन्तमा रात्रीभोजको आयोजना गरिएको थियो । यसरी विर्सनै नसक्ने गरी साउदी अरेवियामा पनि प्रवासी नेपालीहरुले दशैं मनाए ।
विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेबियाका केन्द्रिय अध्यक्ष खगेन्द्र अधिकारी अमृत र केन्द्रिय सदस्य बिष्णु प्रसाद चापागाई बैकुण्ठे ज्यूबाट वाचन गरिएका गजलहरुः
गजल
- विष्णु प्रसाद चापागाई बैकुण्ठे
भोको पेट खानै नपाइ खुटेर गयो दशैं
आयो आयो भन्दै पोहोर छुटेर गयो दशै
यसपाली चाडवाडमा रंगीन बनाउने
मिठो खाने मेरो रहर भुटेर गयो दशैं
वाध्य भई गएँ मुग्लान गरीबी कम गर्न
चाँजो पाँजो हेरी शितल टुटेर गयो दशैं
ऋणमाथि भारी बिसाएँ हलुङ्गो छैन अझै
चन्द्र-सूर्य देख्ने नयन फुटेर गयो दशैं
गरी कर्म रीति रिवाज संस्कृति बचाउँदा
आफ्नै तन नाङ्गो बनाई लुटेर गयो दशैं
गजल
- खगेन्द्र अधिकारी अमृत
यसपाली नी घर आउन पाइन आमा
टिका लाए जमरा लाउन पाइन आमा
मन त थियो रंगीचंडी घर बनाउने
खरको छानो टिनले छाउन पाइन आमा
आर्शिर्वाद थापी मातापिता दुबैको
भुन्टे र नेप्टेसंगै रमाउन पाइन आमा
नमान्नु है विरानो गाउँघर छिमेकीमा
घरी घर घरी पिडमा धाउन पाइन आमा
यसपाली नी घर आउन पाइन आमा
टिका लाए जमरा लाउन पाइन आमा
No comments:
Post a Comment